26 नेपाली गजल - Nepali Ghazal
  • यो जमाना उल्टो रै’छ अत्तर भन्दै तेजाव बेच्छन ।

लेखकःअनन्त लम्साल 557 पटक पढिएको:

यो जमाना उल्टो रै’छ अत्तर भन्दै तेजाव बेच्छन ।
अचम्म छ मान्छेहरु काँडा चुमी गुलाव टेक्छन ॥

अब तिमी यत्ति धेरै दु:खी हुनु राम्रो हैन ,
यस्तै हुन्छन ब्यस्त मान्छे बोल्दैनन् न जवाफ लेख्छन ।

हाँसुँ रोउँ या रिसाउँ प्रेम-प्रसङ्ग जोडी हाल्छन,
अब मैँले दुधै पिउँ मित्रहरु सराव देख्छन ।

माया, शान्ति न सुरक्षा अँधेरो छ त्यो महलमा
आमा बिना बचेराले अझै के के अभाव झेल्छन !

पाठक सम्म भइनस् तँ तेरो औकात के ‘अनन्त’?
फर्की हेर त ! अचेल तेरा सबै साथी किताव लेख्छन ।

अनन्त लम्साल

जन्म : २०४१ भाद्र २०, बागेश्वरी ४ , नुवाकोट

साहित्यमा सानै देखि रुची । बिद्यालयकालदेखि नै प्रमुख रुचीको बिषय साहित्य । गजलमा रुची पुरानै हो, अलिअलि आफ्नै तरिकाले अरुको हेरेर यसरी रहेछ भन्ने बिचारेर लेख्नन प्रारम्भ। जब गजलको नियम, परिधी अलि-अलि यिनै सोसियल साईटहरुबाट बिभिन्न बरिष्ठ गजलकारहरुबाट थाहा पाएर अघि बढेको ।