28 नेपाली गजल - Nepali Ghazal
  • यही बाटो बग्दै थियो दुई धारा नुनिलो

लेखकःसबिन एकतारे 517 पटक पढिएको:

यही बाटो बग्दै थियो दुई धारा नुनिलो
फुलिदियो मुस्कान यहीँ भएछ मन मलिलो

पाइलै पिच्छे आजभोलि ईश्वर मात्र भेटिन्छन
गोडाले नि रोजेको छ शायद बाटो गतिलो

ए फूल ! सँधै खुशी मात्रै कहाँ बाँड्यौ तिमीले ?
संगतमा तिम्रो परी काँडाहरू धारिलो

मेरो विश्वासमाथि टेकी अघि बढ्नु है साथी
माथि पुग्न दिएकोछु मैले आधार दरिलो

बेलगाम छु उर्लिन्छु म चुपचाप चुपचाप सुन्छ ऊ
अहो! यहाँ मौनता पो भयो अति चोटिलो

सबिन एकतारे

सम्पादक नेपाली गजल डट कम (nepalighazal.com)