9 नेपाली गजल - Nepali Ghazal
  • एउटा जीवन बाँच्न कैयौ चोटि मर्नु पर्छ

लेखकःटक गुरुड्ग 3426 पटक पढिएको:

एउटा जीवन बाँच्न कैयौ चोटि मर्नु पर्छ
तिमी भन्छौ रुँदा पक्का आँशु झर्नु पर्छ

यो पत्थरमा हेर ,मैले प्राण फुकिदिएँ
यसले म माथि नै अब शासन गर्नु पर्छ

किनार चुमि बस्नु समयको बर्बादि हो
यस्तो प्यास मेट्न तिम्ले सागर तर्नु पर्छ

साष्टांग मुद्रामै डुब्छ घाम जिन्दगीको
जीवन जिउनलाई कहाँ पाउ पर्नु पर्छ

जसले आकाशमा ताराहरु छर्यो
उसलाई थाह छ टिप्नलाई छर्नुपर्छ

गम्दै बसेकोछ ,लास सुस्काउँदै खुईया
चिहान सम्म पुग्न अर्को फारम भर्नु पर्छ

टक गुरुड्ग

टक गुरुङ
आँबु खैरेनी -६ तनहुँ
पिता: खमान सिङ गुरुङ
माता: स्व. दुर्गा माया गुरुङ
शिक्षा : स्नातक ,त्रि.बि
पेशा: प्लान्ट इन्जिनिएर,इन्टर प्लास्ट कम्पनि . लि ,यु.ए.इ

प्रकाशनहरु:

छाती भरि देश दुख्छ (समस्या पूर्ति संग्रह)
प्रवाश का अक्षर हरु ( संयुक्त गजल संग्रह )
प्रकाशोउन्मुख: बिभावाना (गजल संग्रह)