2 नेपाली गजल - Nepali Ghazal
  • रुनै पनि केको हतार पर्ख एकैछिन

लेखकःनारायण गाउँले 796 पटक पढिएको:

रुनै पनि केको हतार पर्ख एकैछिन
भेटिन्छ कि हाँस्ने आधार पर्ख एकैछिन

कौडीमै के बिक्नु र यार बिक्नै परेपछि
खुलेको छ भर्खर बजार पर्ख एकैछिन

मसाल न हो लुटिएको घाम लुट्छ कसले ?
मेटिनेछ यो अन्धकार पर्ख एकैछिन

आगो न हो के भरोसा फेरि धोका नहोस्
जाँच्दै छु म हरेक अङ्गार पर्ख एकैछिन 

कोठीजस्तै बाँझो कहाँ, यार मेरो गजल
रोपेको छु फल्छ विचार पर्ख एकैछिन

धुरीसम्मै पुग्यो धुआँ भन्छ घरमूली
खन्दै छु म अझै इनार पर्ख एकैछिन

नारायण गाउँले

नारायण गाउँले नेपाली गजल डट कमका सम्पादक हुनुहुन्छ ।