48 नेपाली गजल - Nepali Ghazal
  • मन्दिरमा कुरान हुन्छ कि हुँदैन

लेखकःश्रीजन श्री 468 पटक पढिएको:

मन्दिरमा कुरान हुन्छ कि हुँदैन
मस्जिदमा भगवान हुन्छ कि हुँदैन ?

साह्रै चमत्कार गर्‍यो प्रविधिले 
दिल जोड्ने विज्ञान हुन्छ कि हुँदैन?

''अण्डा पहिले कि कुखुरा पहिले''
समस्याको निदान हुन्छ कि हुँदैन ?

बोलीको गोलीले छेडेपछि छाती
कतै केही निसान हुन्छ कि हुँदैन ?

देख्दैछु स्वतन्त्र स्वतन्त्र देख्दै छु
चराहरुको विधान हुन्छ कि हुँदैन ?

श्रीजन श्री

निसिल ७ धाप, दार्चुलामा जन्मेका भएका गजलकार "श्रीजन श्री" अनाममण्डली मलेसियाका संस्थापक अध्यक्ष हुनु । 
मलेसियामा नेपाली गजललार्इ भित्र्याउने प्रमुख श्रेय पाएका श्रीजन, विभिन्न सामाजिक र साहित्यिक संघ संस्थाहरुसँग पनि आवद्द छन ।
उनका १– माटो हाँस्छ (एकल), २– विम्व (सह), ३ – माटो भन्नु मुटु रैुछ (एकल), ४– सृजनाका स्वरहरु (सह) गजल संग्रहहरु प्रकाशित छन् । यात्रा साहित्य संगालो र सृजनाका स्वरहरुको सम्पादक समेत रहेका श्रीजन श्री “दीपाञ्जलि”को नियमित सम्पादन पनि गरिरहेका छन ।
प्रवासी नयन साहित्य समाज जोहोर मलेसिया, हाम्रो आवाज साप्ताहिक मलेसिया, क्षत्रीय समाज मलेसिया, र उदाउँदो तारा साहित्य समाज पेनाङ मलेसियाबाट सम्मानित श्रीजन, सु.प. सेवा समाज मलेसियाद्वारा  "पश्चिमी तारा"को उपाधी सहित अभिनन्दित भै सकेका छन भने, साहित्य मञ्च काठमाण्डौँ र अनेसास मलेसियाबाट पनि पुरस्कृत भएका छन । तन्नेरी डट कम द्वारा २०६६का लागि "बर्ष तन्नेरी" घोषित श्रीजन श्रीको कलम माटो र मुटुमा चुर्लुम्म डुबेको छ ।