38 नेपाली गजल - Nepali Ghazal
  • कहाँ पुगें र म कहाँ आएँ त्यो याद छैन

लेखकःदीपक जडित 668 पटक पढिएको:

कहाँ पुगें र म कहाँ आएँ त्यो याद छैन 
कैले भेटिएँ कैले हराएँ त्यो याद छैन ।

बरू गजल कति लेखें गनेर भन्न सक्छु
नसोध भोटो कति फटाएँ त्यो याद छैन ।

अझै भेटिन्छन् मेरो कथा सुन्न खोज्नेहरू
मैले ककस्लाई के सुनाएँ त्यो याद छैन ।

सम्झन्छु तिमीले दिएका थुप्रै बाचाहरू
तर कसम भने कति खाएँ त्यो याद छैन ।

हिसाब त हैन तर याद छ आफ्नो हार, 
त्यसबेला कस्लाई जिताएँ त्यो याद छैन ।

ऐना अगाडि उभिँदा सधैं विचार गर्छु 
जीवनभर केके लुकाएँ त्यो याद छैन ।

जब लोकले जडित भन्छ सम्झन खोज्छु
आखिर दीपक कैले निभाएँ त्यो याद छैन ।

दीपक जडित

वि सं २०३३ साल जेष्ठ १० गते झापाको गौरादहमा जन्मिएका दीपक जडित नेपाली गजलमा निक्कै पोख्त नाम हो । उनी गीत, गजल, कथा, कविता आदि विधामा कलम चलाउछन् । आफ्नो परिचयमा खुलाउन लायक केही नै नभएको मान्ने उनी एक ब्लगर हुन् र मेरो साहित्य संसार र विविध लगायत अन्य एकाध ब्लगमा लेख्ने गर्छन् ।