30 नेपाली गजल - Nepali Ghazal
  • ढुङ्गा र चट्टान गाल्नुको अर्थ हुन्न

लेखकःमोहन बिहानी 527 पटक पढिएको:

ढुङ्गा र चट्टान गाल्नुको अर्थ हुन्न
बालुवामा पानी हाल्नुको अर्थ हुन्न

आमूल परिवर्तन गर्ने नाउँमा यहाँ
पुराना सालिक ढाल्नुको अर्थ हु्न्न 

कृषिप्रधान देश भन्ने हामीले यहाँ
गाई बेची गधा पाल्नुको अर्थ हु्न्न 

जोईपोइको झगडामा चक्काजाम गर्दै
सडकमा टायर बाल्नुको अर्थ हु्न्न 

विकास निर्माण गर्ने नेपाली पारा हेर
वर्षातसँगै सडक टाल्नुको अर्थ हु्न्न 

बेरोजगारी समस्या समाधान भन्दै
युवाशक्ति खाडी फाल्नुको अर्थ हु्न्न

मोहन बिहानी

ठेगानाः भक्तिपुर-७, सर्लाही
हालः जनकपुर

Website: mohanbihani.blogspot.com