4 नेपाली गजल - Nepali Ghazal
  • घुमी रहेछ फनफनी दीवारको घडीसरी

लेखकःआवाज शर्मा 2907 पटक पढिएको:

घुमी रहेछ फनफनी दीवारको घडीसरी 
कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदीसरी

रहेछ दाग छातीमा बनेर याद बल्झियो 
बढेर जान्छ घाउ झन् ऊ सङ्गको दूरीसरी

उराठ लाग्दो एकलो उदास जिन्दगी हुँदा 
यी दाग घाउ लाग्दछन् अमूल्य सम्पतीसरी

सँगै हिंंडेनि लक्षमा सबै कहाँ पुगिन्छ र? 
हरेक मोडको कथा भेटिन्छ जिन्दगीसरी

अझै नि तान्न खोज्दछौ समाऊ पाउ के छ र
जहाँ म ढल्छु भूल त्यै उभिन्छ सारथीसरी

नदेऊ अर्ती भैगयो जहाँ छ स्वार्थ गर्भमा 
भन्यौ पत्याएँ तृप् छु, तीतो छ औषधीसरी

कुनै खुला किताब झैं यी श्लोक शेरमा सधैं
म प्राण पोख्छु शब्दमा र सुन्छु ढुकढुकीसरी

आवाज शर्मा

नाम : बाला अधिकारी

(बिन्दु हिमाली, रजनीश पोख्रेली, सिमल शर्मा जस्ता उपनामबाट साहित्य र संगीत क्षेत्रमा बालककाल देखि नै कृयाशील, पछिल्लो समयमा आवाज शर्मा नाउँबाट गजल लेखनमा सक्रिय)
जन्म : २०२९/०३/०१ बुधबार
ठेगाना : ढिकुरपोखरी-१, अधिकारी डाँडा, कास्की
पिता : स्व. केशवप्रसाद उपाध्याय
माता : कलावती उपाध्याय

शिक्षा : स्नातकोत्तर गणित शिक्षा

संलग्नता :
उप-प्राध्यापक : माछापुच्छ्रे शिक्षा क्याम्पस
शिक्षक : सिर्जना सामुदायिक मा.वि.

प्रकाशित कृति :
पलाँस -गजल सङ्ग्रह
पोल्यो शितले झन -गजल सङ्ग्रह
परीका कथा -गजल सङ्ग्रह
पिपल छायाँले -लोकगीत सङ्ग्रह
पर्खी बसौँला -लोकगीत सङ्ग्रह

प्रकाशोन्मुख कृति :
सुब्बा सा'पकी छोरी -लामा कथा सङ्ग्रह
अरूज विज्ञान- गजलको सैद्धान्तिक आधार

पुरस्कार सम्मान :


१. मोतीराम सेतुराम गजल पुरस्कार २०६८

२. लोकसंगीत संकलन र अनुसन्धानको लागि दर्जनभन्दा बढी पुरस्कार, उपाधि र सम्मानहरू