23 नेपाली गजल - Nepali Ghazal
  • धुवाँ धुवाँ जीवन मेरो, डढेलोले खाए जस्तै

लेखकःसानु शर्मा 2554 पटक पढिएको:

धुवाँ धुवाँ जीवन मेरो, डढेलोले खाए जस्तै
मुस्कानपनि कस्तो खल्लो, आँसुमा डुबाएजस्तै ।

मेरो मायाँ सगर जस्तै, आँखामै नअटाउने
उसको त मायाँ पनि अड्कलेर लाए जस्तै ।

पढ्न खोज्छु चिठ्ठीहरु, पुराना ती सँगालेको
अपुरा छन् शब्दहरु, आँसुले बगाए जस्तै ।

देख्दिन म घाउ कुनै, आराम छैन जिन्दगीलाई
बाँच्ने निहुमा बिष पनि, औषधी झैं खाए जस्तै ।

अस्तब्यस्त मनको सहर, उस्को याद आएपछि
किन आउँछ मेरै मनमा, आँधी हुरी आए जस्तै ।

कस्ले बाँध्ने बाँध यहाँ, कस्ले थुन्ने यी आँसुलाई
लाग्छ अचेल आँसु पनि, गजल गुन्गुनाए जस्तै ।

 

कोही हुन्न अजम्वरी, जानुनै छ याद छोडी

कर्कलाको पातमा झरी, शीतको थोपा बिलाए जस्तै ।

सानु शर्मा