10 नेपाली गजल - Nepali Ghazal
  • के चपाए शब्दले किन यिनको दाँत टुटेको छ

लेखकःनिरज भट्टराई 2519 पटक पढिएको:

के चपाए शब्दले किन यिनको दाँत टुटेको छ 

अलग कुरा हो कागजमा हाँसो खूब खुलेको छ

 

हिंड्नुको भयले म चुपचाप घरभित्रै बसिरहें 

थाहै थिएन घर स्वयम् नै सफरमा कुदेको छ

 

जिन्दगी रोगी रुख हो जसको यौटै हरियो पात छ 

बस् निकै खुसी छ कतै त औषधी पुगेको छ

 

सदियौं देखि अपलक यी मुर्तिलाई के थाहा 

बन्द आँखा पछाडी कस्तो उज्यालो लुकेको छ

 

गज़लबाटै सुन्नु कुनैदिन उडानका किस्साहरु 

एक एक प्वाँख छानी 'निरज'ले पखेटा बुनेको छ

निरज भट्टराई


ठेगाना : चुँदी ,तनहुँ
प्रकाशित कृति : मेरो भन्नु केहि छैन ( गज़लसंग्रह -२०६५ )
तलाश ( गज़लसंग्रह -२०६७ )
धुवाँको धागो (कविता संग्रह -२०७०)