50 नेपाली गजल - Nepali Ghazal
  • तराईको आगो पनि निभाउनै पर्छ

लेखकःआनन्द श्रेष्ठ 438 पटक पढिएको:

तराईको आगो पनि निभाउनै पर्छ 

सबैलाई मिठो आशा दिलाउनै पर्छ

 

यौटा भाइले हार्दा अर्को भाइले जित्छ भने

हार्नेलाई उठाएर जिताउनै पर्छ

 

छिमेकी त बैरि न हुन् साँधै मिच्न खोज्छन्

"मर्दा पर्दा चाहिने" पाठ सिकाउनै पर्छ

 

हिमाल पग्ली पानी बन्छ, पहाड चुम्दै आउँछ

त्यै पानीले तराईलाई भिजाउनै पर्छ

 

जनता नै जनार्दन हुन् "आनन्द"ले बुझ 

पदमा टिक्न जनतालाई रिझाउनै पर्छ ।

आनन्द श्रेष्ठ

आनन्द श्रेष्ठको जन्म चितवन जिल्लाको भरतपुर नगरपालिका वडा नं. ४ बाह्रघरेमा २०२५ सालको माघ महिनामा भएको हो । २०४२ सालमा एस.एल.सी. परिक्षा दिए पछि पोखरामा केही समय बिताएर २०४३ सालदेखि २०४६ सालसम्म पुल्चोक ईञ्जिनियरिङ्ग कलेजमा डिप्लोमा ईन सिभिल ईञ्जिनियरिङ्ग अध्ययन पुरा गर्नुभयो । खानेपानी संस्थानमा स्थायी जागिरे भएको २१ वर्ष भयो र दुई पदोन्नती पछि प्राविधिक अधिकृत भए पनि ईञ्जिनियर सो सरह हुनुभएकोछ ।

२०४५ सालमा दशरथ रंगशालामा भएको भिषण असिना पानी पछिको दुर्घटनाबाट आहत भएर एउटा कविता लेखी कलेजको कविता प्रतियोगितामा भाग लिएपछि साहित्यिक यात्राको पहिलो खुड्किलो चढ्नुभएका श्रेष्ठ त्यसपछि र जागिरे सिलसिलामा रसुवा, नुवाकोट, धुन्चे, ठमेल र सामाखुशीले थुप्रै कविताहरुको श्रृजना गरे पनि गजलमा निकै पछि अर्थात करिब ५ महिना अघि मात्र लाग्नु भएको हो यो क्षेत्रमा ।