1 नेपाली गजल - Nepali Ghazal
  • कहाँसम्म पुगिएला यसैगरी खोच्याएर

लेखकःमनु ब्राजाकी 2692 पटक पढिएको:

कहाँसम्म पुगिएला यसैगरी खोच्याएर
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।


आवारा झैं भएपछी डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।

फाँट बेंसी गाउँघरमा छँदा कती ठुलो थिएँ
धेरैमाथी पुगें क्यारे आफुलाई होच्याएर ।

मन चोर्ने बोल्या छैन, धन चोर्ने चाँही आज
साधु बनी बसेको छ कोकोहोलो मच्चाएर ।

ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला
घर पुग्नु परे हिँड मनुलाई पछ्याएर ।

मनु ब्राजाकी

कृतिहरु

उनको पहिलो रचना वि.सं. २०१९मा 'अञ्चल सन्देश'मा कथा प्रकाशित भएको थियो। मनुका प्रकाशित मौलिक कृतिहरूः

  • अवमूल्यन (कथासंग्रह, वि.सं. २०३८)
  • आकाशको फल (कथासंग्रह, वि.सं. २०४२)
  • तिमी स्वास्नी र म (कथासंग्रह, वि.सं. २०४६)
  • काँडाका फूलहरू (गजलहरू, वि.सं. २०५६)
  • पारदर्शी मान्छे (कथासंग्रह, वि.सं. २०६०)
  • गजल गङ्गा (गजलहरू, वि.सं. २०५१)

पुरस्कार

  • मैनाली कथा पुरस्कार
  • तिमी स्वास्नी र म का लागि वि.सं. २०४६को साझा पुरस्कार
  • वि.सं. २०४७को गंगालक्ष्मी पुरस्कार
  • आख्यान नाटकतर्फ वि.सं. २०६९को महाकवि देवकोटा पुरस्कार