• सम्पादकीयः मोतीराम भट्ट

विश्वसाहित्यको कुनै पनि प्रारम्भिक सृजना अपरिपक्व, असंगठित र सामान्य स्तरको हुनेगर्छ । या त्यो सृजनाको सर्जक थाहा हुँदैन या त त्यो सृजना  पूर्णत: साहित्यिक हुँदैन । पहिलो नेपाली कविताकै कुरो गर्‍यौँ भने पनि  सुवानन्द दासको कविता नाममात्रको कविता छ । न त्यसमा विधागत सङ्गति छ न  कलात्मक सौन्दर्य । तर नेपाली गजलको इतिहास भने यसभन्दा भिन्न छ । पहिलो  गजल नै परिपक्व, विधागत अनुशासनमा सङ्गठित र लयबद्ध हुनु गौरवको विषय हो र यसको श्रेय पहिलो सर्जक मोतीराम भट्टलाई जान्छ ।

मोतीराम भट्टले  नेपाली गजलको शिलान्यास गरेसँगै समग्र नेपाली साहित्यले भक्तिधाराबाट कोल्टे फेर्दै शृङ्गारिक धारमा पाइला सारेको हो । नेपाली साहित्यमा  युगान्तरण गर्दै भट्टले माध्यमिक कालको प्रवर्तन र त्यसको नेतृत्वसमेत  गरेका हुन् ।

मूलत: शृङ्गारिक पृष्ठभूमिमा नेपाली गजलको बीजारोपण  भएपनि मोतीरामका गजलभित्र व्यङ्ग्य, यौन, भक्ति, निराशा, सामाजिकता,  मनोविज्ञानजस्ता विविध विषय र भाव निकै कलात्मक रूपमा अभिव्यक्त भएका छन् ।  भट्टले नेपाली गजलको पहिचान स्थापित गराउन वैयक्तिक रूपमा मात्र नभई  संस्थागत रूपमा समेत पहल गरेको भेटिन्छ । गजल सर्जकहरूको मण्डली नै तयार  गरेर उनले बलियो जग तयार गरेका हुन् आजको आधुनिक नेपाली गजलका लागि ।

आजको नेपाली गजल जीवनका बहुमुखी आयाम र आयतनसम्म फैलिएको छ । सायदै जीवनको  त्यस्तो कुनै पाटो बाँकी होस् जुन गजलले नछोएको होस् । जीवनका समग्र  जटिलता र ऊहापोहलाई नेपाली गजलले निकै गम्भीरताका साथ टिपेको छ । समकालीन  समाजका हरेक अवयव र प्रवृत्तिको मिहीन टिपोट र प्रभावकारी अभिव्यक्ति  गजलबाहेक अर्को कुनै विधाले सायदै गरेको होला । पछिल्लो दशक नेपाली गजलको  स्वर्णिम युगका रूपमा स्थापित भएको छ । सङ्ख्यात्मक र गुणात्मक विस्तारका  अतिरिक्त प्राज्ञिक पहिचान, सङ्गीतसितको घनिष्टता, प्रकाशन, अनुसन्धानजस्ता  विशिष्ट क्रियाकलाप  यसका प्राप्ति हुन् ।

मोतीजयन्ती विशेषाङ्कका रूपमा प्रस्तुत अङ्क उनै नेपाली गजलका पितामह मोतीराम भट्टप्रति समर्पण गर्दछौं ।

September 08, 2015 23:24 By नारायण गाउँले