नेपाली गजल डट कम
सम्पादकीय : अङ्क १४
गजलका आधारभूत तत्त्वहरूमध्ये प्राय: सधैं उल्लेख भएर पनि 'रदीफ'बारे निकै कम व्याख्या र विश्लेषण गरिएको पाइन्छ । मतलाका दुबै पङ्क्ति र सोपछिका शेरमा दोस्रो पङ्क्तिको अन्त्यमा काफियालगत्तै दोहोरिने शब्दांश, शब्द वा शब्दसमूह रदीफ हो । अरबीमा 'सेनापतिपछिको सेना' या घोडचढी योद्धाको पछाडि बस्ने सहयात्रीलाई बुझाउन रदीफ शब्दको प्रयोग हुँदै आएको पाइन्छ । गजलमा मूल योद्धा काफिया नै हो र त्यसपछिको सहयोद्धा 'रदीफ' हो ।
'दोहोरिनु'मात्रै रदीफको योग्यता होइन । हरेक काफियासित यसको घनिष्ट र स्वाभाविक सम्बन्ध हुनु जरुरी छ । काफियासितको संसर्गले हरेक शेरमा भिन्न प्रभाव र अभिव्यय्जनार्थको उत्पादन गर्ने क्षमता रदीफमा हुनुपर्दछ । शेरका अवयवहरूसँग रदीफको सङ्गति यति सूक्ष्म, मिहीन र प्राकृतिक होस् कि श्रोता यो पाठकलाई दोहोरिएको बोध नै नहोस् । यसर्थ फरक-फरक धार र पृष्ठभूमिका काफियालाई बोक्न सक्ने गरी कुशलतापूर्वक रदीफको चयन अपेक्षित हुन्छ । एक असल, पूर्ण र सफल रदीफले आफैमा एउटा स्वतन्त्र विम्ब या भाव निर्माण गर्दछ र त्यही विम्ब या भावसँग संयोजित भएर हरेक शेरले आफ्नो फरक प्रभाव कायम गर्दछ । काफियाले एक शेरमा एकपटकमात्रै परीक्षा दिए पुग्छ भने रदीफले हरेक शेरमा परीक्षा दिएर खरो उत्रिनु आवश्यक छ । स्मरणीय छ, धेरै महान् गजलकारका गजलहरू आज पनि रदीफबाट याद गरिन्छन् ।
निचोडमा रदीफ दोहोरिएको शब्दको नाम होइन, यो त फरक र विविध विषय तथा काफियाहरूबीच समन्वय गर्ने गजलको महत्त्वपूर्ण तत्त्व हो । विशेषत: भिन्न विषयवस्तुको (गैरमुसलसल) गजलमा रदीफले नै शेरहरूको स्वच्छन्द विस्तार र भावगत विविधताबीच प्रभावगत एकीकरणको कार्य गर्दछ । विविध फूलहरूलाई एउटै धागोले आफूमा समायोजन गरेर सिङ्गो माला बनाएझैं भिन्न प्रकृति र भावका शेरलाई उनेर सुन्दर 'गजल' बनाउने काम रदीफले गर्दछ । काफियाको आनुप्रासिकतासँगै आएर रदीफले गजलको अन्तरलयात्मकतामा समेत वृद्धि गर्दछ ।
संरचनागत दृष्टिले रदीफ गजलको अनिवार्य तत्त्व भने होइन । रदीफविना पनि गजलको अस्तित्व हुने हुनाले रदीफलाई गजलको आत्मा मानिँदैन । तर यो, आँखाविना पनि मान्छे हुनसक्ने हुनाले आँखालाई मान्छेको अनिवार्य अङ्ग नमानिएजस्तै हो । मुटु र फोक्सोजस्तै आँखा अपरिहार्य नहोला, तर त्यसको औचित्य र महत्त्वबारे धेरै लेखिरहनु जरुरी हुँदैन, यसरी नै गजलमा रदीफको महत्त्वबारे धेरै बोल्नु आवश्यक छैन । रदीफसहितको गजललाई उर्दूमा मुरद्दफ गजल र रदीफरहित गजललाई गैरमुरद्दफ गजल भनिन्छ ।
नारायण गाउँले
सम्पादक
नेपालीगजलडटकम
सम्पादकीयबारे आफ्नो अभिमत व्यक्त गर्न दायाँतिर शिरानमा रहेको 'सम्पादकीय' अथवा 'यहाँ' थिच्नुहोस् ।
हामीलाई सुझाव र गजल पठाउने ठेगानाः editor@nepalighazal.com
यस अंकको विशेष- अंक १४
गजलकार ज्ञानुवाकर पौडेल एक कार्यक्रममा गजल वाचन गर्दै
प्रा. डा. सनत कुमार वस्ती एक कार्यक्रममा गजल वाचन गर्दै
गजलकार करुण थापा एक कार्यक्रममा गजल वाचन गर्दै


