अङ्क २१ - असोज ८, २०७०

सम्पादकीय

 

शास्त्रीयता, सिद्धान्त र गजल


साहित्यिक सृजना र सिद्धान्तबीच अन्डा पहिले कि कुखुरा भन्नेजस्तो जटिलता हुँदैन । कुनै पनि साहित्यिक सिद्धान्तको स्वायत्त प्रतिपादन, निर्माण या आविष्कार हुँदैन । यो त कुनै कालखण्डमा खास सृजनाले अवलम्बन गरेको ढाँचा, शैली र प्रकार्यहरूको संश्लेषणात्मक अभिलेखन हो, जुन तत्तत् सृजनाहरूको परिवर्तनधर्मितासँगै सापेक्षरूपमा गतिशील हुन्छ । साहित्यिक सिद्धान्त आफैमा ठोस या अपरिवर्तनीय हुँदैन । यो सृजनाको ऐनामात्रै हो । सृजना आफैमा समाजको ऐना हो र समाज कहिल्यै स्थायी प्रकृतिको हुँदैन । यसका मूल्यमान्यता, संरचना, आस्था र बहावमा आउने निरन्तर परिवर्तनसँगै साहित्यले पनि आफ्नो स्वरूप र सारलाई बिस्तारै बदल्दै लैजान्छ । भगवान्, शासकलगायतका शक्तिशालीहरूको भक्ति हुँदै साहित्य व्यक्तिपरक बनेर यौनमनोविश्लेषणसम्म पुग्नु समाज-परिवर्तनकै कारण हो । कालान्तरमा सिद्धान्त रूढ हुँदै जानु र केही विद्वान्हरूमा विकसित हुने अति-सिद्धान्तमोहले परिवर्तनधर्मी सृजनालाई सम्बोधन गर्न सक्दैन । फलत: सिर्जना र सिद्धान्तबीचको अन्तर्सङ्घर्षमा सिद्धान्तको मृत्यु भई त्यसको सामयिक पुनर्जन्म हुन्छ अथवा सृजना र सिद्धान्तबीच अपूरणीय दूरी पैदा हुन्छ । यो नयाँ सिद्धान्तका लागि प्रसव-अवस्था पनि हो । होमर, भर्जिल, कालिदास, फिरदौसी या तुलसीदासजस्ता कविका कवितालाई विश्लेषण गरेर त्यसलाई संश्लेषित गरी बनाइएको कविता-सिद्धान्तले आजका कविलाई न्याय गर्दैन ।


सृजना र सिद्धान्तबीच भाषा र व्याकरणको जस्तो सम्बन्ध हुनेगर्छ । यस्तो सम्बन्धमा जहिले पनि तरलता, स्वाभाविकता र सामयिकताको अपेक्षा रहन्छ । यस्तो सम्बन्ध ठोस र रूढ बनिदियो भने सृजनालाई ठूलो हानि हुन्छ । उदाहरणका लागि संस्कृत भाषालाई लिन सकिन्छ । संस्कृत भाषामा दर्जनौं व्याकरणहरू लेखिएका थिए जुन भाषाको लचिलो स्वभावसँग सहधर्मी थिए । तिनमा गति थियो, परिवर्तनशीलता थियो र ती आफैमा पूर्ण थिएनन् । तर ईसापूर्व चौथो शताब्दीतिर जन्मिएका भाषाविद् पाणिनिले यति सघन, सूक्ष्म र त्रुटिरहित व्याकरण निर्माण गरिदिए कि अन्तत: त्यो संस्कृत भाषाको थप विकासमा पूर्णविराम बन्न पुग्यो । पाणिनीय व्याकरण यति ठोस र अपवादरहित थियो कि त्यसले भाषाको तरलतालाई निषेधजस्तै गरिदियो । यद्यपि तत्कालीन भाषिक अवस्थितिको आधारमा त्यो निकै गुणात्मक र विश्वकै पहिलो वैज्ञानिक व्याकरण थियो, तर त्यसमा परिवर्तनलाई आत्मसात गर्ने ठाउँ थिएन । भाषामाथि व्याकरणको जीत भयो, फलत: परिवर्तित संस्कृत भाषालाई अर्कै नाम दिँदै जानुपर्ने भयो र प्राकृत, पालि, अपभ्रंश हुँदै हिन्दी, नेपालीजस्ता भाषाहरू जन्मिए । तर, सधैं जीत एकपक्षको मात्रै हुन्छ भन्ने हुँदैन । सोमनाथ शर्माको मध्यचन्द्रिकाले नेपाली भाषालाई रोक्न सकेन अनि छन्दमा रहेको कविता (Verse poetry)मैत्री सिद्धान्तले गद्य कविता (Prose poetrey)लाई रोक्न सकेन ।

यो सूत्र गजलसिद्धान्त र गजलमा पनि लागू हुन्छ । आशय भाषा व्याकरणरहित र सृजना सिद्धान्तरहित हुनुपर्छ भन्ने होइन, व्याकरण या सिद्धान्तले भाषा र सृजनाको गतिशीलतालाई न्याय गर्नसक्नुपर्छ भन्ने हो । वस्तुत: गजलसिद्धान्त भन्नु नै गजल सृजनाले निश्चित अवधिमा निर्माण गरेका सृजनात्मक वैशिष्ट्यको आलेखन हो । यस्ता वैशिष्ट्यहरू समयक्रममा परिवर्तन भइरहेका छन् र समसामयिक गजलहरूले बोकेको स्वर, संरचना र विशेषताहरूको संश्लेषित सिद्धान्त नै आधुनिक गजलसिद्धान्त हो ।

भनिन्छ, कुनै पनि सिद्धान्त पालना गरेर हिँड्नेहरूभन्दा भत्काउनेहरू महान् भएका छन् । तर, यसको सामान्यीकरण गरेर हरेक सिद्धान्तका नियमहरू तोड्दै हिँड्नुलाई महानता मान्न सकिन्न । सिद्धान्त आफैमा कुशल मार्गदर्शक र अनुशासन पनि हो । परिवर्तनहरूलाई आत्मसात् गर्दै यथासम्भव स्थापित सिद्धान्तलाई पचाएर अघि बढ्नु नै लेखकीय मर्यादा पनि हो । कुनै दर्शन, चिन्तन या उद्देश्यविनै सजिलोका लागि सिद्धान्तलाई तोडमरोड गरेर कुशल लेखक बनिँदैन । सिद्धान्तको परिवर्तन एउटा व्यक्ति-लहडले हुँदैन । यो वैयक्तिक आन्दोलन नभई तत्कालीन सृजनाहरूको सामूहिक प्रवृत्ति, आयाम, गुणस्तरीयता र पाठकीय स्वीकृतिमा भर पर्ने स्वचालित प्रक्रिया हो । खासमा यो युगौं लामो अन्तरसङ्घर्षको परिणाम हो । अझ हामीकहाँ त सैद्धान्तिक ज्ञानको अभाव या त्यसमा आफ्नो अक्षमतालाई लुकाउन सिद्धान्तको विरोध गर्ने चलन देखिँदै आएको छ । त्यसमा पनि कुनै खास संरचनात्मक पक्षमा जोड दिएर त्यसलाई परिवर्तन गर्न खोज्नेहरूको लामो भीड छ । यस्ता अभ्यासहरू तातो हावा भरिएका बेलुनहरू हुन् । यिनले क्षणिक मनोरञ्जन र आत्मरति त दिन्छन् तर न लेखक, न कृतिलाई गन्तव्यमा पुर्‍याउँछन् !

कुनै पनि सिद्धान्तको संरक्षण त्यसबारे लेखेर, भाषण गरेर होइन, त्यो सिद्धान्तमा आधारित भएर सृजनाहरू गरेर मात्रै हुने भएकाले गजलको सैद्धान्तिक मान्यताहरूमा आस्था या मोह राख्ने सर्जकहरूले तदनुरूप नै सृजनाकार्यमा लाग्नु उचित हुन्छ । जबसम्म स्थापित सैद्धान्तिक प्रस्थापनाहरूमा गुणस्तरीय र लोकप्रिय सृजना भइरहन्छन् तबसम्म सैद्धान्तिक विचलनले ठूलो अर्थ राख्दैन । संस्थापन पक्षसँग जब लोकप्रिय र गुणस्तरीय रचनाको साटो तर्क र सिद्धान्तमात्र बाँकी हुन्छ, तबमात्रै विचलन सम्भव हुन्छ । अँध्यारोको विरोधले उज्यालो बढ्दैन, बत्ती बाल्नैपर्छ । धुवाँमात्रै बाँकी रहेको बत्तीमा कसैको आस्था बचिराख्दैन । असैद्धान्तिक रचनाहरूको जति विरोध हुन्छ ती त्यति सबल बन्छन् । बदल्न चाहनेहरूको इच्छाले सिद्धान्त बदलिने होइन, बचाइराख्न चाहनेहरूको कमीले यो फेरिन्छ । परिवर्तनकामीहरू त झन् सिद्धान्तविरुद्ध बोल्नुको कुनै तुक छैन । तिनको मुख्य कार्य स्वतन्त्र लेख्नु हो, यति बलियो लेख्नु कि भोलि सिद्धान्तले आफै आत्मसपर्पण गरोस् !

- नारायण गाउँले  


गजल र सुझाव पठाउनका लागिः 
This email address is being protected from spambots. You need JavaScript enabled to view it.

      यस अङ्कका गजलहरु








नेपाली गजल डट कम का लागि मबि सिँहको प्रस्तुतिः

घरभित्र कोही थियो स‌ंघारमा कोही रै'छ
मुटुभित्र कोही थियो निधारमा कोही रै'छ

गायकः सनुप पौडेल
संगीतकारः काली प्रसाद बास्कोटा
गजलकारः करुण थापा

गजल सुन्नका लागि PLAY बटनमा क्लिक गर्नुहोस्